काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले सत्य समाचार सम्प्रेषण गर्ने पत्रकारिता धर्मको सम्मान गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरिसकेको उल्लेख गर्नुभएको छ।
“पत्रकारले निर्भीक र स्वतन्त्र रूपमा समाचार लेख्न पाउनु पर्ने अवस्था बनाउनु राज्यको जिम्मेवारी हो,” राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यस्तै, सत्यतथ्यमा आधारित खबर सम्प्रेषण गरेर जनतालाई सुसूचित राख्नु प्रेसको कर्तव्य हो। नेपाली प्रेस सधैं यसमा सजग र चनाखो रहनेछ भन्ने मलाई विश्वास छ।”
उहाँले पत्रकारले लेखेका खबरकै आधारमा असुरक्षित बन्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण सुनिश्चित गर्न सबैको ध्यान जानुपर्ने उहाँको भनाइ थियो।
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको बढ्दो प्रयोगले भ्रमपूर्ण र आधारहीन सूचना फैलने जोखिम बढेको भन्दै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्न नेपाली पत्रकारिता सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
“संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै जनताले अपेक्षा गरेको सुशासन, विकास र समृद्धिको यात्रामा नेपाली प्रेसले अझ प्रभावकारी भूमिका खेल्नेछ,” राष्ट्रपति पौडेलले स्पष्ट पार्नुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन निर्माण तथा संशोधनको प्रक्रिया जारी रहेको जानकारी दिनुभयो। “अहिले कानुनी हिसाबले संक्रमणकालीन अवस्था छ, तर सुधारको काम भइरहेको छ,” उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा आर्थिक संकट र व्यावसायिक चुनौती बढ्दै गएका कारण राज्यले पत्रकारको सुरक्षा र अधिकारप्रति संवेदनशील बन्नुपर्ने बताउनुभयो।
त्यसैगरी महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले सूचना प्रविधिको समुचित प्रयोग गर्दै नेपाली पत्रकारिता अझ दक्ष र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।
उक्त अवसरमा वरिष्ठ पत्रकार सम्मान–२०८१ पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतलाई प्रदान गरियो।
राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट बागलुङका विमल गौतम, कास्कीका दीपेन्द्र श्रेष्ठ, कैलालीकी लोग्शरी कुँवर, सङ्खुवासभाका दीपेन्द्र बान्तवा, उदयपुरका डिल्लीराम खतिवडा र तनहुँका सागर पण्डित सम्मानित भए।
दुवै पुरस्कार राष्ट्रपति पौडेलबाट प्रदान गरिएका थिए। वरिष्ठ पत्रकार सम्मानको राशि रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि रु एक लाख रहेको थियो।