• Jana Kura

  • 2025-05-06

 

काठमाडौं, वैशाख २३ — नेपाली साहित्यको शास्त्रीय छन्दमा लेखिएका कविहरूको परिचय, सिर्जना र इतिहासलाई समेटिएको महत्वपूर्ण कृति ‘छन्दकवि कोश’ सार्वजनिक भएको छ। महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित यो ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा प्रकाशित गरिएको हो।

कोशमा १ हजार ९३ जना कविहरूको जीवन परिचय र छन्दमा रचना गरिएका श्लोकहरू समावेश गरिएको छ। त्यस्तै, करिब ३ सय कविहरूको नामावली सूचनाका रूपमा राखिएको छ। कतिपय स्रष्टाका सिर्जनाहरू उपलब्ध छन् भने केहीका नाम मात्र लिपिबद्ध गरिएका छन्।

लेखक न्यौपानेले यो कोशमार्फत नेपाली साहित्यको छन्द परम्परालाई दस्तावेजी स्वरूप दिन खोजेका छन्। दशकौँ पुराना उपनिषद्, महाकाव्य, पुराण र दुर्लभ ग्रन्थहरू पल्टाउँदै उनले पुराना पुस्तकालयहरूमा महिनौँ बिताएर सामग्री संकलन गरेका थिए। कविहरूको नाम, जन्म मिति र वर्णानुक्रमका आधारमा ग्रन्थ संरचना तयार गरिएको छ।

समालोचना तथा साहित्य इतिहास विभागका प्रमुख डा. मधुसूदन गिरीले यस कृतिलाई “महत्वपूर्ण खोज अनुसन्धान” भन्दै प्रकाशन प्रक्रियामा नेतृत्व प्रदान गरेका थिए। लेखकले आफ्नो प्रेरणादायिनी जीवनसङ्गिनी होममाया न्यौपाने, परिवार, सल्लाहकारहरू तथा प्रज्ञा प्रतिष्ठानप्रति विशेष आभार प्रकट गरेका छन्।

वार्णिक र मात्रिक छन्दमा आधारित श्लोकहरू समावेश गरिएको यो कोशले नेपाली भाषाको शास्त्रीय कवितामा योगदान दिएका कविहरूको पहिचान मात्रै होइन, भावी शोधकर्ताहरूका लागि पनि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

लेखकका अनुसार बाँकी रहेका स्रष्टाहरूलाई आगामी खण्डहरूमा समेटिनेछ। ‘छन्दकवि कोश’ नेपाली साहित्यमा छन्द परम्पराको संरक्षण र प्रवर्द्धनतर्फको महत्वपूर्ण पाइला बनेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै