• Jana Kura

  • 2025-05-05

 

काठमाडौँ, २२ वैशाख – विदेशमा रहेर पनि दिलमा नेपाल बोकेका गैरआवासीय नेपाली (एनआरएन) हरूको आवाज र एकताको प्रतीक ‘एनआरएनए’ एकता महाधिवेशन आइतबार काठमाडौँमा सम्पन्न भएको छ। महाधिवेशनले ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समापन समारोहमा सहभागी नेताहरूले विदेशमा बस्ने नेपालीहरूप्रति राष्ट्रले ठूलो आशा राखेको उल्लेख गर्दै नागरिकता, मताधिकार, लगानी, सीप र प्रतिष्ठाका सवालमा ठोस काम गर्नुपर्ने कुरामा जोड दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सरकारले सुरु गरेको एनआरएन नागरिकता प्रक्रियाको कार्यान्वयन अझै नहुनुमा दुःख व्यक्त गर्दै अब आफ्नो दलले त्यसमा पूर्ण साथ दिने आश्वासन दिनुभयो।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महतले एनआरएनहरूसँग भएको ज्ञान र सीप मुलुकको समृद्धिमा प्रयोग गर्न सरकारले सहज बाटो खोल्नुपर्ने बताउँदै लगानी र क्षमताको अधिकतम उपयोगको अपिल गर्नुभयो।

महाधिवेशनमा विभिन्न देशबाट आएका एनआरएन अभियन्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै साझा उद्देश्यका लागि हातेमालो गर्न आग्रह गरे।

नयाँ अध्यक्ष श्रेष्ठले सबैलाई सहमति र ऐक्यबद्धताको बाटोमा हिँड्न आग्रह गर्दै, सरकारलाई गैरआवासीय नेपाली नागरिकताको अधिकार सुनिश्चित गर्न संविधानअनुसारको कानुनी सुधार शीघ्र गर्न अनुरोध गर्नुभयो।

महाधिवेशनले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन र मध्यपूर्वमा समस्यामा परेका नेपाली श्रमिकलाई सुरक्षित घर फर्काउने पहल गर्न सरकारलाई विशेष ध्यान दिन पनि अनुरोध गरेको छ।

गत शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै