हेटौंडा, मकवानपुर – १८ वैशाख:
यातायात व्यवस्था कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा मात्रै ४५ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयका प्रमुख प्रवीण श्रेष्ठका अनुसार साउनदेखि चैत महिनासम्म नयाँ सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरणजस्ता सेवाबाट यो राजस्व संकलन भएको हो।
सबैभन्दा धेरै २८ करोड २७ लाखभन्दा बढी रकम सवारी करबाट उठाइएको छ भने सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ८ लाख, यातायात क्षेत्रको आम्दानीबाट ७ करोड १५ लाख, सङ्घीय हिस्साबाट ३ करोड १४ लाख र बेरुजुबाट केही रकम संकलन भएको छ।
यस अवधिमा ४ हजार ३५१ वटा नयाँ सवारी साधन दर्ता भएका छन्। मोटरसाइकल, साना सवारी, टेम्पो–ईरिक्सा, ठूला सवारी र ट्याक्टर गरी विभिन्न प्रकारका सवारीहरू दर्ता भएका हुन्।
त्यस्तै, नयाँ ४ हजार ७८१ जनालाई सवारी चालक अनुमति पत्र दिइएको छ भने वर्ग थप गरी थप २ हजार १६१ जनाले लाइसेन्स प्राप्त गरेका छन्।
नवीकरण र प्रतिलिपी गरी सयौँ सेवाग्राहीले सुविधा लिएका छन्। अघिल्लो वर्षको तुलनामा दर्ता र राजस्व संकलनमा केही घटेपनि कार्यालयले निरन्तर सेवा दिइरहेको जनाइएको छ।