काठमाडौँ, १३ वैशाख: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गर्नुभएको छ । नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित दलका सांसदहरुलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।”- प्रधानमन्त्री ओलीले भन्नुभयो।