काठमाडौँ, ७ साउन : साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । आज बहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् । उनीहरु निराहार ब्रत बसेर भगवान शिवको पूजा अराधना गर्ने गर्छन् । पशुपतिनाथमा भक्तजनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएका छन् । पशुपतिनाथका साथै ललितपुरको कुम्भेश्वर मन्दिरमा समेत दर्शनार्थीले पूजाआजा गरेका छन् ।