❝ विपद् जोखिम न्यूनीकरणका लागि ‘कार्टुन’ प्रदर्शनी ❞
2024-07-03
काठमाडौँ, १९ असार : विपद् जोखिम न्यूनीकरणका लागि व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्रमार्फत नागरिकलाई सन्देश प्रदान गर्न थालिएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी कला प्रदर्शनी’ आयोजना गरी व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्रमार्फत नागरिकलाई सचेतनामूलक सन्देश दिन थालिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको संयुक्त सहकार्यमा प्रदर्शनी सुरु भएको हो । यही असार २२ गतेसम्म जारी रहने प्रदर्शनीमा विभिन्न कलाकारका विपद्सम्बन्धी विषयका कार्टुन समावेश गरिएका छन् । कार्टुन चित्रमार्फत सन्देश प्रवाह गर्दा सहज रुपमा बुझ्ने र बुझाउन सजिलो हुने भएकाले कला सृजनालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा उपयोग गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।
“फूल, बालबालिकाका गतिविधि र कला सबैले मनपराउँछन् । यही भावलाई अङ्गीकार गर्दै कलामार्फत विपद् जोखिमका विषयलाई उठान गर्न खोजिएको हो”, कार्यकारी प्रमुख पोखरेलले भन्नुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामा दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान कलाको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कलामार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रतिष्ठानले काम गरिरहेको छ । यस प्रदर्शनीमार्फत विपद्का विषयमा सन्देश दिन र जागरण ल्याउन सहयोग मिल्ने आशा लिएका छौँ ।” गृह मन्त्रालयका सहसचिव एवं विपद् व्यवस्थापन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने हुँदा सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन प्रभावकारी माध्यम भएको बताउनुहुन्छ ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताउँदै भन्नुभयो, “कलामार्फत विपद् र त्यसका जोखिमका विषयलाई सन्देशमूलक ढङ्गले उठान गर्न खोजिएको हो । यसले सामाजिक सन्देश दिन योगदान गर्छ ।” प्रदर्शनीमा कलाकार अविन श्रेष्ठ, अकृन, वासु क्षितिज देवेन्द्र थुम्केली, केशवराज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रवीन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डङ्गोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगङ्गा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ तमोर, गौरव डङ्गोल र योगेश खपाङ्गीका २७ व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र समावेश छन् ।