काठमाडौँ, ११ असारः नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चार स्वर्ण, एक रजत र दुई कास्यसहित सात पदक जितेको छ । भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो ।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । यस्तै सिनियरतर्फ ६८ केजीमुनि कुमार लवतले कास्य जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे । जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन् ।