❝ नुवाकोटमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाइयो ❞
2024-01-15
त्रिशूली (नवाकोट), १ माघ : नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पिपलडाँडामा ८ हल गोरु जुधाइएकोमा स्थानीय जीवन थापाको (कैलो तिल्के) पहिलो भएको छ । उहाँको गोरुले सोही वडाका झलकबहादुर थापाका सेतोभालेलाई हराउँदै पहिलो बन्न सफल भएको हो । पहिलो हुने गोरु धनी जीवन थापाले २० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।स्तै दोस्रो स्थानमा पञ्चकन्या ५ का सुवास थपलिया र तेस्रो स्थान मिलन न्यौपानेको गोरुले प्राप्त गरेको छ । दोस्रो हुने गोरु धनीले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । स्थानीय नवप्रतिभा युवा समूहको आयोजनामा भएको गोरु जुधाइमा संविधानसभा सदस्य जगदीशश्वरनरसिंह केसी प्रमुख अतिथि हुनुहुन्थ्यो । तादी र पञ्चकन्याका १६ वडा गोरु जुधाइएको थियो । विजेता, उपविजेता गोरुधनीहरुलाई जम्मा १ लाख ३ हजार रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिएको समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो ।
पञ्चकन्या गाउँपालिका-३ पीपलडाँडामा आठहल र शिवपुरी गाउँपालिका-५ शेराबगरमा चारहल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो । शिवपुरी गाउँपालिका-५ शेराबगरमा आयोजित गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ । “किसानले नेतृत्व गरेको गोरु जुधाइलाई समय सान्दर्भिक बनाउन सरकारीस्तरबाट सहयोग हुन्छ”, उहाँले भन्नुभयो, “पर्व, संस्कृति र प्रतियोगिताले अर्थतन्त्र बलियो बनाउन र विकासको सूचाङ्क बढाउन केन्द्रित गराउनुपर्छ ।” तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा मनोरञ्जन दिन गोरु जुधाएर देखाइएको र त्यसलाई निरन्तरता दिन थालिएको माघेसङ्क्रान्ति गोरुजुधाइ महोत्सव व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले ठाउँठाउँमा स्वःस्फूर्तरुपमा जुधाउने गोरुलाई विसं २०६२ देखि समितिमार्फत व्यवस्थितरुपमा प्रतियोगिताका रुपमा सञ्चालनमा ल्याइएको हो । “गोरु जुधाइ प्रतिस्पर्धाले पशुचौपायको अधिकारको हनन् हुन्छ भने टिप्पणी भए पनि जुधाउने गोरुपालक किसानबाट पूर्वप्रशिक्षण, प्रतिस्पर्धामा आचारसंहिताको पालना, स्वास्थ्योपचारलगायत समिति सचेत हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “गोरु जुधाइले जिल्लाको पर्यटन प्रवर्द्धन, संस्कृतिको सम्वर्द्धनसहित बद्लिँदो परिवेशको मौलिकपनलाई समेत सुरक्षित बनाउन योगदान पुर्याएको छ ।” माघेसङ्क्रान्ति पर्वका अवसरमा बेत्रावतीमा आयोजित गोरु जुधाइ पर्वलाई सांस्कृतिक महोत्सवका रुपमा थप बृहत् बनाउँदै लगिएको छ । बेत्रावतीमा २०५३ सालदेखि गोरु जुधाउन सुरु भए पनि २०६७ देखि स्थानीय बेत्रावती युवा क्लबले नेतृत्व लिएर प्रतियोगिताका रुपमा व्यवस्थित गरेको छ।