काठमाडौँ, २४ पुस। फ्लाविया महर्जन ‘मिस इको इन्टरनेसनल नेपाल २०२४’ को विजेता घोषित भएकी छन् । उपाधि जितेसँगै काठमाडौंकी २१ वर्षीया महर्जनले इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२४’ नेपालको प्रतिनिधित्व गर्नेछन् । ग्रिनआर्ट मिडियाले राजधानीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित इजिप्ट प्रतियोगिताका लागि छनोट भएकी हुन् । कोरियोग्राफर रोजिन शाक्य, हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेरराज गिरी, सञ्चारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ श्रृष्टि महर्जन, मिस हेरिटेज २०२३ आज्मा महर्जनलगायतको उपस्थिति थियो । विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् ।
उनले अवसर प्रदान गर्ने ग्रिन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा जस्तोसुकै चुनौती आए पनि सामना गर्ने धारणा राखिन् । प्रतियोगितामा आफूले नेपालको संस्कृति र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् । ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले महर्जनले ‘मिस इको इन्टरनेसनल’ मा नेपालको नाम राखेर फर्किने बताए ।आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीको सहभागिता रहनेछ । यो प्रतियोगिता वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट सन् २०१५ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।