❝ ललितकला र सिद्धार्थ फाउण्डेसनबीच सहकार्यको सहमति ❞
2023-12-27
काठमाडौँ, ११ पुस : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबीच नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्यको सहमति भएको छ । आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउण्डेशनका अध्यक्ष सङ्गीता थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । त्यस अवसरमा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचारप्रसार गर्न सार्वजनिक–निजी साझेदारी अपनाउन आवश्यक भएको बताउनुभयो ।नेपाली कलालाई विश्वसामु चिनाउने, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबीच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने–गराउने र कलामार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कला महोत्सवका रूपमा आयोजना हुँदै आएको ‘काठमाडौं ट्रिएनाले’लाई अझ फरक र पृथक् रूपमा अघि बढाउनका लागि प्रतिष्ठान र फाउन्डेसनले सहकार्य गरेका हुन्। काठमाडौं ट्रिएनालेका संस्थापकका रूपमा सिद्धार्थ आर्टस् फाउन्डेसनका निर्देशक संगीता थापाको योगदानलाई निरन्तरता दिने गरी आगामी दिनमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्टस् फाउन्डेसनको संयुक्त आयोजनामा कला महोत्सवका रूपमा ‘ मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान यो सहकार्य गरिएको बताउनुभयो । चित्रकार सुजन चित्रकारले अन्तर्राष्ट्रिय कला महोत्सवका रुपमा ‘काठमाडौँ ट्रियनियल’ आयोजना गरेर विश्व समकालीन कलाको लागि नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रुपमा काम गरिरहेको बताउनुभयो । काठमाडौँ ट्रियनियल पाँचौ संस्करणसम्म आइपुग्दा नेपाली कलालाई विश्वबजारमा चिनाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।