काठमाडौँ ४ पुस : काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घ संस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । इच्छुक सङ्घ संस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन कामपा शिक्षा विभागले आग्रह गरेको हो ।
कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यले विद्यालयमा तालिम प्रदायक सङ्घ संस्थालाई सूचीकृत हुन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कामपाले आफ्नो क्षेत्रमा सञ्चालितमध्ये ८१ सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । “यसअन्तर्गत हरेक शुक्रबार किताबमा भएका भन्दा फरक र व्यवहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।
चालु आवमा शिक्षाका लागि रू एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमका लागि पनि छुट्टै बजेटको व्यवस्था गरेको कोइरालाले बताउनुभयो । उहाँका अनुसार कामपाको माग अनुसार सूचीकृत हुने सङ्घसंस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाका कक्षा हुनेछन् ।