❝ गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री ❞
2023-12-12
काठमाडौँ, २६ मङ्सिर : सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेकोप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उहाँको भनाइ छ । नेकपा (माओवादी केन्द्र)ले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताउनुभयो । “एकथरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलङ्का बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे”, उहाँले भन्नुभयो, “तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् ।” व्यवस्था विरोधीले सङ्घीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उहाँको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका पक्षमा कानुन निर्माण गरेर सामन्तीको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको बताउनुभयो । “मिटरब्याज पीडितका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो, पीडितका लागि यो मुक्ति अभियान जस्तै भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “बुबाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका लाखौँ नेपालीले नागरिकता पाउन सके ।” सुशासनका पक्षमा सरकारले महत्वपूर्ण कदम उठाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ठूलाठूला भ्रष्टाचारका काण्डको छानबिन अघि बढाइएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सुकुम्वासी तथा भूमिहीनको समस्या समाधान गर्न निर्णायक पहलकदमी लिइएको जानकारी दिँदै उहाँले वन तथा भूमिसम्बन्धी ऐन संशोधन गरेर लाखौँ सुकुम्वासीलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।