❝ ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच गिरोह पक्राउ ❞
2023-10-29
काठमाडौँ, १२ कात्तिक : ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैङक खातासँग लिङकअप गराई खाता नविकरण, केवाइसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरुले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैङ्क खाता तथा वालेटहरुमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट रु १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको भनाई छ। यस ठगीमा संलग्न उनीहरुलाई रौतहट जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज काठमाडौँ जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।