❝ नेपाली कांग्रेसले भोलि शनिबार शुभकामना र चियापान गर्दै ❞
2023-10-27
काठमाडौँ, १० कात्तिक ः भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भन्नुभयो, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पु¥याउनेछ ।” काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिनुभएको थियो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको हो । कांग्रेसले बडादसँंैको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।