• 2021-10-04

    टाेखालाइभ/ असोज १८,२०७८
    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको माधवकुमार नेपाल समूहलाई ‘बिग्रिएको मान्छे’को संज्ञा दिएका छन्।

    ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा नेपालप्रति संकेत गर्दै ओलीले भने, ‘यो पार्टी काम लाग्दैन भनेर केहीले नयाँ पार्टी दर्ता गरेका छन्। यसलाई सक्नुपर्छ भनेर लागिरहेका छन्।’ दुई तिहाइ बहुमतका साथ काम गरिरहेको एमाले सरकार हटाउनकै लागि प्रचण्ड–माधव समूहले कात्तिकमै आफूलाई हटाउने खोजेको उनले आरोप लगाए।

     

    ओलीले भने, ‘म चैतमा महाधिवेशन गर्ने भनेर लागिरहेको थिएँ। तर, मलाई हटाउनकै लागि कात्तिकमै षड्यन्त्र गरे। त्यही बेलामा उनीहरूले १३ पृष्ठ लामो आरोपपत्रसमेत पेश गरेका थिए। एकीकरणको बाटो छाडेर पार्टी ध्वस्त बनाउन खोजे पनि हामीले जोगाउन सही कदम चाल्यौं।’
    माधव नेपालको भ्रममा परेर अलमलमा परिरहेकाहरूलाई फिर्ता ल्याउन आफैंले पहल गर्नेसमेत उनले बताए।

     

    ओलीले भने, ‘अलमलमा परेकाहरूलाई फर्काउन हामी पनि प्रयास गर्छौं, तपाईंहरू पनि स्पष्ट भएर लाग्नुहोस्।’
    देश र जनताको पक्षमा काम गर्ने एमाले सरकारलाई बदनाम गर्नकै लागि ओम्नी प्रकरण उछालेको दाबी उनले गरे।

     

    ‘कोरोनाको महामारीमा हामीले स्वास्थ्य सामग्री ल्यायौँ। अहिले ओम्नी ओम्नी भन्छन्। मैले पटक पटक अख्तियारलाई छानबिन गर्नुस् भनेको हो। तर, जनतासामु हामीलाई बदनाम गर्न खोजियो। यो सबै एमाले विरुद्धको षड्यन्त्र मात्रै हो,’ ओलीको भनाइ छ।

    एमालेलाई सरकारबाट हटाउन दुनियाँ लागेको बताए। जनताको बहुदलीय जनवादको अवधारणाअनुसार कार्यक्रम लिएर चुनावका लागि जनतामाझ जान उनले पार्टी नेता तथा कार्यकर्तालाई निर्देश गरे।- मध्यान्ह दैनिकबाट साभार

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै