JanaKura

वुद्धिजिवी तथा पूर्व काउन्सिलर डा. बच्चु कैलाश बेलायत छाडेर मातृभूमि नेपाल फर्कंदै

मंसिर २२, २०७७

टोखा लाइभ ।बेलायती राजनीतिमा समेत अगाडि बढिसकेका एकजना चर्चित वुद्धिजिवी तथा पूर्व काउन्सिलर डा. बच्चु कैलाश कैनी बेलायत छाडेर मातृभूमि नेपाल फर्कने भएका छन् । लन्डनस्थित क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. कैनी ललितपुरको हरिसिद्धीमा अवस्थित एक निजी ‘नेपाल क्यान्सर अस्पताल’ मा सिइओ (प्रमुख कार्यकारी अधिकृत) को जिम्मेवारी लिएर नेपाल फर्कन लागेका हुन् ।

२ अर्ब रुपैयां लगानीमा केही वर्षअघि खुलेको उक्त अस्पतालमा कैनीले प्रमुख कार्यकारी अधिकृतका रुपमा सम्झौता गरिसकेको जनाए ।

‘बेलायत आएर केही अध्ययन र अनुभव आर्जन गरिसकेपछि नेपाल फर्कने सोच पहिल्यै थियो । अब छोरीले पढाइ सकिएर कानूनी पेशागत काम शुरु गरेको र छोराको मेडिसिनमा ग्रयाजुएसन हुन १५ महिना जति बांकी रहेकाले हामी बुढाबुढी फर्कने सोच बनाऔं’, उनले भने ।

सन् २००५, अक्टोबरमा बेलायत आए लगत्तै कैनीले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम शुरु गरेका थिए । उनी एनएचएसमा सन् २००९ देखि ब्याण्ड ८ तहमा वरिष्ठ व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए । ग्रीनवीच विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा पिएचडी गरेपछि कैनीले आर्डेन विश्वविद्यालय र ग्रीनवीच स्कुल अफ म्यानेजमेन्टमा स्वास्थ्य व्यवस्थापन विषयको सह-प्राध्यापकका रुपमा समेत काम गरे ।

सन् ०१५ देखि ०१९ सम्म डार्टफोर्ड काउन्सिलको काउन्सिलरका रुपमा काम गरेका उनी सन् २०१७ को बेलायती संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीबाट सांसद उम्मेदवार समेत भए ।

‘बेलायतमा आकर्षक पद, तलव-सुविधा, राजनीतिक-सामाजिक छवि हुंदा हुंदै पनि मातृभूमिका लागि केही गरौं भनेर फर्कने सोच बनाएको हो । ढिलो चांडो हामी सबैजना केही ज्ञान, सीप लिएर नेपाल फर्कनुपर्छ भन्ने मेरो मान्यता छ’, उनले भने ।

तर, शनिबार नेपाल उड्ने कार्यक्रम भने कैनीको कोभिड १९ रिपोर्ट पोजिटिभ आएपछि केही समय लम्बिने भएको छ ।

Exit mobile version