
अनुगमनपछि छोटो प्रतिक्रिया दिँदै महानगर प्रमुख विद्यासुन्दर शाक्यले नगरपालिकाहरुलाई आगामी दिनमा अझै पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । महानगरबाट नजिक रहेको धार्मिक पर्यटकीय र हाइकिङ क्षेत्रहरुको विकासमा महानगरले सहयोग गर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि १–१ करोड रुपैयाँ उपलब्ध गराएको थियो । यस क्रममा तारकेश्वर नगरले वडा नं. ३ मा अवस्थित तारकेश्वर धाम निर्माण गर्ने योजना महानगरमा पठाएको थियो ।
चारैतिर सार्वजनिक जङ्गल रहेको भू–भागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिढीँ, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेश द्वार निर्माणलगायत काम भइरहेका छन् । हाल धामको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।
काठमाडौं महानगरको बालाजु वाइपासबाट करीब १५ किलोमिटर दुरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदल यात्रापछि धाम क्षेत्रमा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाममा पुग्न सकिन्छ ।
यस ठाउँमा सती देवीको दायाँ तिघ्रो पतन भएको विश्वास गरिन्छ । यही विश्वासका आधारमा स्वस्थानी व्रतका समयमा यस ठाउँमा मानिसहरु आउने जाने गर्छन् । त्यस्तै जनै पूर्णिमाका दिन यहाँको पोखरीमा स्नान गर्न मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।
— फरकपत्रबाट