JanaKura

अब राजाको फोटो भएका नोट नेपालमा नचल्ने

११ जेष्ठ २०७७, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ।

सफा नोट नीति कार्यान्वयनलाई संशोधन गर्दै राष्ट्र बैंकले नोटहरुलाई तीन किसिमले वर्गीकरण गरेर व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

निर्देशन अनुसार नोटलाई एटिएम लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नु निर्देशनमा उल्लेख गरिएको छ ।

चलनचल्तीमा पठाउन अयोग्य नोट नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ भने यी संस्थामा पहुँच नभएका वित्तीय संस्थाहरूले भने आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ।

त्यसैगरी, भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोटलाई निश्चित प्रकृया अपनाइ भाइरसरहित गर्नुपर्नेछ।

स्लिपमा कार्यालयको शाखाको नाम, छाप, नेट गिन्ती गर्ने कर्मचारीको नाम, कर्मचारी परिचय नम्बर, सहि र मिति अनिवार्य रुपमा भर्नुपर्नेछ। त्यस्तै, नोटमा स्टिचको प्रयोग गर्न पाइने छैन।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेको अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रङ्ग लागेको वा पूर्वराजाको तस्वीर भएको नोटलाई पुन निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्ने र त्यस्ता नोटलाइ चलनचल्तीमा पठाउन पाइने छैन।

Exit mobile version