काठमाडौँ, १२ माघ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल काठमाडौँ जिल्ला शाखाको वार्षिक भेला सम्पन्न भएको छ ।
शाखाकी अध्यक्ष ललिता उप्रेती रिजालको अध्यक्षतामा आयोजित उक्त भेलामा मञ्चका केन्द्रीय महासचिव तिलोत्तम पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले आसन्न निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिनुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष र मानव अधिकारमैत्री बनाउन जिल्ला शाखाले आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
भेलामा शाखाले गत वर्ष मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । सो अवसरमा आगामी वर्षको कार्ययोजना पारित गर्नुका साथै सातबुँदे घोषणापत्रसमेत जारी गरिएको छ ।
