काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको १८० दिन अवधिको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो। बोलकबोल बुधबार अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ र क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ।
समान ब्याजदरमा परेको बोलको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ।
आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।
स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ। उपकरण निष्कासन हुने दिन सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभए त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ।
भुक्तानी मितिमा तोकिएको ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमार्फत राखिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न सकिनेछ। तर यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा भने गणना गर्न पाइने छैन। राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
