एजेन्सी । चीनले पहिलोपटक रकेटको पहिलो चरणलाई भूमिमा सफलतापूर्वक पुनःप्राप्त गरी सुरक्षित अवतरण गराएको छ। पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिको विकासमा जुटेको चीनका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ।
चिनियाँ राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको पुनःप्रयोगयोग्य ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काएर अवतरण गराइएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ‘झुक–३’ बुधबार बिहान प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो। यस क्रममा पहिलोपटक तैनाथ गर्न मिल्ने अवतरण खुट्टा प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ।
चीनले यसलाई पुनःप्रयोगयोग्य रकेट प्रविधिको विकासमा महत्वपूर्ण सफलता मानेको छ।
यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनःप्राप्त गरेको थियो। त्यसैले बुधबारको सफलता चीनले रकेटको पहिलो चरण पुनःप्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल अवतरण हो।
रकेटको पहिलो चरणलाई पुनःप्राप्त गरी पुनः प्रयोग गर्न सकिने प्रविधिले अन्तरिक्ष प्रक्षेपणको लागत घटाउन सहयोग गर्छ। उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नुपर्ने परम्परागत प्रणालीको सट्टा एउटै हार्डवेयर पटक–पटक प्रयोग गर्न सकिने भएकाले यस्तो प्रविधिलाई अन्तरिक्ष उद्योगमा महत्वपूर्ण मानिन्छ।
यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनःप्राप्तिको प्रविधिमा काम गर्दै आएका छन्।
चीनले गत जुलाई १० मा ‘लङ मार्च–१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनःप्राप्त गरेको थियो। प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो। त्यसबेला रकेटलाई जालोमा समात्ने ‘नेट–क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो।
चीनसँगै जापानले पनि पुनःप्रयोगयोग्य रकेट प्रविधिमा लगानी बढाइरहेको छ। जुलाई ११ मा जापानले प्रयोगात्मक पुनःप्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो। उक्त रकेट उडानपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो।
दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनःप्रयोगयोग्य रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन्।