काठमाडौं । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकन गर्न लागिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। समितिमार्फत नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने उपायबारे अध्ययन गरिरहेको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन्।
मन्त्रालयमा अपराह्न ४ बजे बस्ने बैठकमा विद्युत्को महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ।
समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा पर्याप्त विद्युत् खपत हुन नसकी खेर जाने गरेको छ। यस्तो अवस्थामा आन्तरिक खपत बढाउन ‘सिजनल ट्यारिफ’ लागू गर्ने विषयमा छलफल भइरहेको उनले बताए।
वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै शाहीले सो अवधिमा सहुलियत दरमा विद्युत् उपलब्ध गराएर खपत बढाउने तयारी भइरहेको जानकारी दिए।
उद्योगलाई समेत वर्षायाममा सस्तो विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ। उद्योगले सस्तो विद्युत् पाएपछि त्यसबाट उत्पादन हुने वस्तुको मूल्य घटाउन सक्ने सम्भावनाबारे समेत सम्बन्धित पक्षसँग समन्वय भइरहेको शाहीले बताए।
‘सिजनल ट्यारिफ’ लागू गर्दा विद्युत्को महसुल कति घटाउन सकिन्छ भन्ने विषयमा बुधबारको बैठकमा छलफल हुने उनले जानकारी दिए। उद्योगले सहुलियतमा विद्युत् पाएपछि त्यसको लाभ उपभोक्तासम्म कसरी पुर्याउन सकिन्छ भन्ने विषयसमेत छलफलको एजेन्डामा रहेको उनको भनाइ छ।
सरकारले विद्युत्को कर तथा महसुलसम्बन्धी नीतिलाई लिएर आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई सहुलियत दिने उपाय खोजिरहेको छ। यसका लागि गठित समितिले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो।
