काठमाडौं । चर्चित गायिका आनी छोइङ डोल्माले दिवंगत साहित्यकार तथा गीतकार दुर्गालाल श्रेष्ठका गीतकै कारण आफू विश्वभर परिचित हुन सकेको बताएकी छन्।
विशेषगरी ‘फूलको आँखामा फूलै संसार’ गीतले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण योगदान दिएको आनी छोइङको भनाइ छ। श्रेष्ठले रचना गरेको उक्त गीतमा आफूले स्वर दिन पाउनु आफ्नो जीवनकै महत्वपूर्ण अवसर भएको उनले बताइन्। उनका अनुसार यही गीत नेपाली सीमाभन्दा बाहिर पनि लोकप्रिय हुँदै आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भयो।
आइतबार राति ९३ वर्षको उमेरमा काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै निवासमा श्रेष्ठको निधन भएको थियो। श्रेष्ठसँग आफूले करिब ६० वटा गीतमा सहकार्य गरेको आनी छोइङले जानकारी दिइन्।
उनले ‘फूलको आँखामा फूलै संसार’ गीत अहिले पनि विभिन्न ठाउँमा निरन्तर गुञ्जिरहने बताइन्। उनका अनुसार गीतले मनोरञ्जन मात्र नभई सकारात्मक सोच र जीवनप्रतिको दृष्टिकोणसमेत दिने भएकाले धेरै मानिसका लागि ज्ञानवर्धक बनेको छ। अभिभावकहरूले समेत आफ्ना बालबालिकालाई यो गीत गाउन प्रेरित गर्ने गरेको उनले उल्लेख गरिन्।
आनी छोइङका अनुसार दुर्गालाल श्रेष्ठका गीतहरू सरल शब्द, सहज भाव र मन छुने भाकामा आधारित हुने भएकाले सबै उमेर समूहका मानिसले सजिलै आत्मसात् गर्न सकेका हुन्।
श्रेष्ठको निधनपछि आनी छोइङले आफ्नो फेसबुकमार्फत भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छन्। उनले श्रेष्ठलाई आफ्नो जीवनकै अत्यन्त अमूल्य व्यक्तिका रूपमा स्मरण गर्दै नेपाली साहित्यका लागि अपूरणीय व्यक्तित्व भएको बताएकी छन्।
उनले श्रेष्ठलाई ‘फूलको आँखामा’ लगायत आफूले मन पराएका धेरै नेपाली गीतको काव्यात्मक हृदयका रूपमा सम्झिएकी छन्। कविता, गीत तथा बालसाहित्यका क्षेत्रमा श्रेष्ठले दशकौँसम्म पुर्याएको योगदानलाई नेपाली समाजका धेरै पुस्ताले सम्झिरहने उनको भनाइ छ।
आनी छोइङले आफ्नो जीवनमा श्रेष्ठका सुन्दर गीतहरूको आशीर्वाद प्राप्त गर्न पाएकोमा आफू सधैँ आभारी रहने बताउँदै श्रेष्ठका परिवार तथा आफन्तप्रति गहिरो समवेदना पनि व्यक्त गरेकी छन्।
परिवार स्रोतका अनुसार दुर्गालाल श्रेष्ठको मंगलबार दिउँसो काठमाडौंको शोभा भगवतीमा अन्तिम संस्कार गरिने भएको छ।
नेपाली साहित्य र गीतसंगीतमा लामो समय योगदान दिएका श्रेष्ठको निधनसँगै साहित्य तथा संगीत क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।