नविना श्रेष्ठ
जेठ ३१,२०८३
धादिङ, दार्खा। खनियाबास गाउँपालिकास्थित गणेशकुण्ड माध्यमिक विद्यालयको प्राङ्गणमा पहिलो, दोस्रो र तेस्रो चरणको UG-5 तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको पहिलो चरणमा ३१ वटा विद्यालयका प्रधानाध्यापक, दोस्रो चरणमा शिक्षक–शिक्षिका तथा तेस्रो चरणमा गाउँका आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा थाइल्याण्डका श्रद्धेय भिक्षु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, थाइल्याण्डका डा. रोमी, रविवान, थिपावान तथा सुचिदा, वडा नं. ४ का अध्यक्ष तथा पालिका प्रवक्ता लिलामान तामाङ, वडा नं. १ का अध्यक्ष सोनाम तामाङ, वडा नं. ३ का अध्यक्ष कमान सिंह तामाङ, युवा तथा शिक्षा शाखाका कपिलदेव थाकुर, UGO अध्यक्ष राकेश महर्जन, नीलकण्ठ गाउँपालिकाका प्रशासकीय अधिकृत हरिदत्त कँडेल, प्रशिक्षक सविता खनाल लगायत शिक्षक, शिक्षिका तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रणबहादुर तामाङले UG-5 तालिमले विद्यार्थी तथा समुदायका सदस्यहरूमा भौतिक, नैतिक, सामाजिक तथा नेतृत्व क्षमताको विकास गरी जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले गाउँको समग्र विकासका लागि पूर्वाधार मात्र नभई नागरिकको चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए।
“शिक्षा र सडकको विकास मात्र पर्याप्त हुँदैन। विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायको चेतनास्तर उकास्न सकियो भने स्वच्छ, सुन्दर र समृद्ध गाउँ निर्माण गर्न धेरै समय लाग्दैन,” उनले भने।
अध्यक्ष तामाङले युवाहरूलाई गाउँमै रोजगारीका अवसर सिर्जना गरी विदेश तथा सहर पलायन रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर गाउँ निर्माणमा आफू निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
तालिम समापनपछि थाइल्याण्डका श्रद्धेय भिक्षु तथा गाउँपालिका अध्यक्षसहितको टोलीले खनियाबास गाउँपालिकाको ल्याप्चे कुण्ड कुरी क्षेत्रमा रहेको करिब ६ सय वर्ष पुरानो रञ्जना लिपि र तिब्बती भाषामा कुँदिएको ऐतिहासिक ढुङ्गा अभिलेखको अवलोकन गरेको थियो। उक्त सम्पदा क्षेत्र स्थानीय इतिहास, संस्कृति र पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छ।
