• Jana Kura

    • 2026-06-06

    काठमाडौं, जेठ २३ । नेपाली राष्ट्रियता, संस्कृति र कलालाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘झण्डा’ कला महोत्सव २०८३ अन्तर्गत विशेष कला प्रदर्शनी आगामी असार ५ गते (जुन १९, २०२६) देखि सुरु हुने भएको छ।

    नेपाली कलाकारहरूको सिर्जनशील समूह आर्ट बुम को आयोजनामा नेपाल कला परिषद् बबरमहलमा सञ्चालन हुने उक्त प्रदर्शनीमा नेपाल र बेलायतका ३३ जना प्रतिष्ठित कलाकारका कलाकृतिसँगै विद्यालय तहका करिब ३०० जना नवप्रतिभाशाली कलाकारका सिर्जनाहरू प्रदर्शन गरिनेछन्।

    राष्ट्रिय गौरव, पहिचान र एकताको प्रतीक ‘झण्डा’ लाई मूल विषयवस्तु बनाइएको प्रदर्शनीको उद्घाटन असार ५ गते अपराह्न ४ बजे कलाकार तथा कला अभियन्ता विजय लामा ले गर्ने कार्यक्रम रहेको छ।

    आयोजकका अनुसार प्रदर्शनी असार ५ देखि ९ गते (जुन १९–२३) सम्म दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। प्रदर्शनीमा नेपाली कला, संस्कृति र राष्ट्रिय भावनालाई विभिन्न शैली र माध्यममार्फत अभिव्यक्त गरिएका कलाकृतिहरू अवलोकन गर्न सकिनेछ।

    आर्ट बुमका अध्यक्ष रत्न शाक्य ले “Celebrating Nepali Nationality & Culture” भन्ने नारालाई आत्मसात गर्दै नेपालको राष्ट्रिय झण्डामा निहित राष्ट्रिय गौरव, एकता, सांस्कृतिक विविधता र राष्ट्रिय पहिचानलाई कलामार्फत अभिव्यक्त गर्ने प्रयास गरिएको बताउनुभयो। उहाँका अनुसार कला समाज र राष्ट्रको ऐना भएकाले नेपाली राष्ट्रियता तथा संस्कृतिलाई सशक्त रूपमा उजागर गर्दै नयाँ पुस्तामा राष्ट्रप्रेम, सांस्कृतिक चेतना र आफ्नो पहिचानप्रतिको गर्व अभिवृद्धि गर्ने उद्देश्यले ‘झण्डा’ कला महोत्सव आयोजना गरिएको हो।

    प्रदर्शनीलाई अझ आकर्षक बनाउन असार ६ गते विद्यालय तहका बाल कलाकारहरूको विशेष सहभागिता रहनेछ भने असार ७ गते खुला कला कार्यशाला (Open Art Workshop) समेत आयोजना गरिने भएको छ।

    आयोजकले कला, संस्कृति र राष्ट्रिय पहिचानप्रति रुचि राख्ने सम्पूर्ण कला प्रेमी, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई प्रदर्शनी अवलोकन गर्न हार्दिक निमन्त्रणा दिएको छ।

    आयोजकको विश्वासमा ‘झण्डा’ केवल कला प्रदर्शनी मात्र नभई नेपालीपन, सिर्जनशीलता, सांस्कृतिक विविधता र राष्ट्रिय गौरवलाई रंग र रेखामार्फत अभिव्यक्त गर्ने साझा उत्सवका रूपमा स्थापित हुनेछ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै