JanaKura

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् : राष्ट्रपति पौडेल

काठमाडौँ, १५ जेठ : रामचन्द्र पौडेल ले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,” उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा जोगाउन तथा यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता र आचरणमा परिवर्तनसहित सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन् । त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,” उहाँले भन्नुभयो ।

उहाँले सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासलाई अगाडि बढाउन तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजको दिनले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले विषम परिस्थितिपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बलियो जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको बताउनुभयो ।

उहाँले शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन गर्दै संरचनागत तथा कानुनी सुधारमार्फत जनतामा आशा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।

ढिलासुस्ती, अनियमितता र बेथिति नै आजको प्रमुख शत्रु भएको उल्लेख गर्दै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकमा निराशा उत्पन्न हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।

“जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” उहाँले भन्नुभयो ।

नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको भन्दै उहाँले उपलब्ध स्रोत–साधनको उच्चतम् प्रयोग आवश्यक रहेको बताउनुभयो ।

“आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । यही नै आजको ऐतिहासिक अभिभारा हो,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै शासकीय चरित्रसँगै राजनीति, पार्टी र नेताको चरित्रमा पनि परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।

“गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले प्राप्त उपलब्धिलाई सबल बनाउन त्याग, विनयशीलता र जनउत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहित आर्थिक तथा सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तथा प्रदेश सरकारले संविधानबमोजिम जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै नागरिकको घरआँगनबाट नै सार्वभौमिकताको अभ्यास भइरहेको बताउनुभयो ।

“नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार र उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ । यसले लोकतन्त्रको जग बलियो बनाउँछ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

Exit mobile version