• Jana Kura

  • 2026-05-27

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र समाज रूपान्तरणको मुख्य आधार भएको बताएका छन् ।

जनप्रतिनिधिहरूको प्रशिक्षण भेलामा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र रूपान्तरणका संवाहक भएको उल्लेख गरे । उनले उक्त भूमिकालाई व्यवहारबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुँजीवादी, एकाधिकारवादी संस्कृतिविरुद्धको वैचारिक लडाइँको मोर्चा हो । हाम्रो जनप्रतिनिधि शासक होइनन्, जनताका सेवक हुन् र रूपान्तरणका संवाहक हुन् भन्ने तथ्यलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ ।”

सापकोटाले बाँकी कार्यकालमा स्थानीय तहले गुणात्मक उपलब्धि हासिल गर्न अधिकतम प्रयास गर्नुपर्ने बताए ।

उनका अनुसार सुशासन, विकास र प्रभावकारी सेवा प्रवाह स्थानीय तहका प्रमुख प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै यी तीन पक्ष एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताए ।

उनले भने, “बाँकी कार्यकालमा गुणात्मक उपलब्धि हासिल गर्न हामीले अधिकतम प्रयास गर्नुपर्छ । सुशासन, विकास र सेवा प्रवाह स्थानीय तहको प्रमुख प्राथमिकता हुनुपर्छ । यी तीनै पक्ष एकअर्कासँग अन्तरसम्बन्धित छन् । स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास र समृद्धिको आधार पनि यिनै हुन् ।”

सापकोटाले शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै सेवा प्रवाहलाई छिटो, सरल र पहुँचयोग्य बनाउँदै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झट नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

उनले भने, “सुशासनलाई स्थानीय सरकार सञ्चालनको मूल आधारका रूपमा स्थापित गर्दै शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी र परिणाममुखी बनाउनु आजको अनिवार्य आवश्यकता हो । सेवा प्रवाहलाई छिटो, सरल र पहुँचयोग्य बनाउँदै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झट पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा ठोस कदम चाल्नुपर्छ ।”

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै