काठमाडौं । डोलप्रसाद अर्याल (डिपी अर्याल) ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट पनि आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग को २६औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रहरूबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनमा संसद्ले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सुझावहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्न म प्रतिबद्ध छु ।”
सभामुख अर्यालले मानव बेचबिखन तथा मानव अधिकार संरक्षणका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमको प्रशंसा गरे ।
उनका अनुसार रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । साथै नेपालले मानव बेचबिखनविरुद्धको सङ्घर्षलाई सुदृढ बनाउन संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिसँग सम्बन्धित पालेर्मो प्रोटोकल अनुमोदन गरेर आफ्नो प्रतिबद्धता प्रकट गरेको बताए ।
उनले भने, “मानव बेचबिखनको विषय सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदम प्रशंसनीय छन् । रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ । नेपालले मानव बेचबिखनविरुद्धको सङ्घर्षलाई मूर्त रूप दिन पालेर्मो प्रोटोकल अनुमोदन गरेको छ ।”
मानव अधिकार उल्लङ्घनका घटनाहरू क्रमशः न्यूनीकरण हुँदै गएको उल्लेख गर्दै उनले दण्डहीनताको अन्त्य तथा मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले महिला तथा बालबालिकामाथि हुने हिंसा र आपराधिक घटनाबाट संरक्षण गर्न सरकारी निकायहरू सक्रिय र प्रतिबद्ध भएर काम गरिरहेको पनि बताए ।
