JanaKura

लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : रामवरण यादव

काठमाडौं ।  पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन को ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको बताए ।

उनले भने, “लोकतन्त्रविना प्रेस जगत चल्दैन र प्रेसविना लोकतन्त्र चल्दैन । त्यसैले लोकतान्त्रिक संस्थालाई अझ मजबुत बनाउन आवश्यक छ ।”

पूर्वराष्ट्रपति यादवले नेपालमा लामो संघर्षपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै यसको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए । राजनीतिक दलहरूले जनताको भावना बुझ्नुपर्ने उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा युवापुस्ताको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।

उनले भने, “यो व्यवस्था एक दिनमा आएको होइन, हजारौँ नेपालीको बलिदान र ७०–८० वर्षको संघर्षको उपलब्धि हो । गल्ती गर्ने पछाडि छुट्छ, सही गर्ने अगाडि बढ्छ । अब युवाहरूले यो व्यवस्थालाई बचाएर देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा व्यवस्थित गर्नुपर्छ ।”

यादवले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति संकेत गर्दै नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए ।

उनले भने, “जनताले ठूलो आशाका साथ नयाँ शक्तिलाई समर्थन गरेका छन् । अब यो व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजानुपर्ने जिम्मेवारी उनीहरूको पनि हो ।”

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्नुपर्ने धारणा राख्दै उनले देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।

उनले भने, “प्रधानमन्त्रीले राष्ट्रलाई देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्छ । सम्पूर्ण नेपाली जनता त्यो सुन्न आतुर छन् ।”

विश्वभर लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए ।

उनले भने, “हाउस, सरकार, न्यायालय र राष्ट्रपतिको संस्था बीच समन्वय भएर मात्रै लोकतान्त्रिक प्रणाली सफल हुन्छ ।”

पूर्वराष्ट्रपति यादवले संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना समेत दिएका छन् ।

Exit mobile version