JanaKura

सुकुमवासी बस्ती हटेपछि नदीजन्य विपद् घट्ने महानगरको अपेक्षा

बाढी र डुबानको जोखिम कम गर्न रणनीतिक योजना तयार

काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकाले नदी किनारामा रहेका सुकुमवासी बस्ती हटाइएपछि यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा गरेको छ ।

कामपा–११, १४, ३१ र ३२ आसपासका नदी किनार क्षेत्रबाट बसोबास हटाइएसँगै बाढी तथा डुबानका घटना घट्ने विश्वास गरिएको महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

“विगतका वर्षमा नदी आसपासका क्षेत्रमा नै बाढीजन्य घटना बढी हुने गरेका थिए । ती स्थानमा रहेको बसोबास हटाइएपछि यस वर्ष एक–दुई स्थानबाहेक नदीजन्य विपद्का घटना कम हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मका क्षेत्रमा भने अझै विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ । बर्खायाममा हुन सक्ने पानीजन्य विपद् न्यूनीकरणका लागि जोखिमयुक्त स्थान पहिचान गरी रणनीतिक योजना तयार गरिएको पनि उहाँले बताउनुभयो ।

सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्का समयमा आवश्यक व्यवस्थापन तथा विपद्पछिको पुनःस्थापनासम्बन्धी कार्यलाई वडा र समुदायस्तरसम्म विस्तार गर्ने गरी महानगरले योजना अघि बढाएको छ । यसका लागि समुदायस्तरीय क्षमता विकास, आन्तरिक समन्वय र साझेदार निकायसँग सहकार्यलाई प्राथमिकतामा राखिएको जोशीको भनाइ छ ।

उहाँले सुरक्षित सहर निर्माणका लागि सहभागितामूलक संयन्त्र आवश्यक रहेको उल्लेख गर्दै सामूहिक ज्ञान, सीप र सोचमार्फत जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभयो । आगामी आर्थिक वर्षदेखि रणनीतिक योजना कार्यान्वयनमा ल्याइने र सोहीअनुसार कार्यक्रम तथा बजेट प्रस्ताव गरिने जानकारी पनि उहाँले दिनुभयो ।

विपद् व्यवस्थापनका लागि पूर्वतयारी संयन्त्रलाई प्रभावकारी बनाउने, वडा तहसम्म समन्वय विस्तार गर्ने तथा पूर्वाधार विकाससँग जोडिएका जोखिमको पूर्वानुमान गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहरको सबैभन्दा ठूलो जोखिम आगलागी रहेको उल्लेख गर्दै जोशीले विद्युत्जन्य आगलागीको खतरा बढ्दै गएको बताउनुभयो । “आगलागीको सूचना प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट निस्कने गरेका छौँ, तर सडकमा अत्यधिक यातायात चापका कारण घटनास्थल पुग्न कठिन हुने गरेको छ,” उहाँले भन्नुभयो ।

Exit mobile version