कीर्तिपुर (काठमाडौँ), ८ जेठः आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे । अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए । आजको जितसँगै नेपाल अङ्क तालिकामा २८ खेलपछि ११ जित, १५ हार र दुई वटा अनिर्णितसहित २४ अङ्क जोडेको छ । —