काठमाडौँ, ८ जेठ । क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव भएपछि देशभरका क्यान्सर बिरामी समस्यामा परेका छन् ।,अस्पतालमा किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेका अनुसार किमोथेरापी उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता औषधि दुई साताभन्दा बढी समयदेखि सकिएका छन् । “ती औषधिमध्ये कम्तीमा एउटा मिसाएर किमोथेरापीमार्फत उपचार गर्नुपर्ने हुन्छ, तर अहिले त्यो समूहकै कुनै औषधि उपलब्ध छैन,” उहाँले बताउनुभयो ।
अस्पतालमा दैनिक करिब ७० जना बिरामीलाई ती औषधिको आवश्यकता पर्ने गरेको जनाइएको छ । औषधिको अभावका कारण उपचार जारी रहे पनि प्रभावकारी नहुने चिकित्सकहरूको भनाइ छ । बिरामीहरू बाध्य भएर भारत तथा अन्य स्थानबाट महँगो मूल्यमा औषधि खरिद गरिरहेका छन् ।
यस्तै, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कार्बोप्लाटिन र सिस्प्लाटिन विगत दुई महिनादेखि अभाव रहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उत्तम नेपालका अनुसार अस्पतालमा रहेको मौज्दात सकिएको छ र दैनिक करिब २०० जना बिरामी प्रभावित भएका छन् ।
का सूचना अधिकारी किरण सुन्दर बज्राचार्यका अनुसार अन्तरराष्ट्रिय बजारमा औषधिको मूल्य वृद्धि भएकाले सरकारले तोकेको पुरानो मूल्यमा आयात सम्भव नभएको हो । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विसं २०७२ मा तोकिएको मूल्यमा अहिले औषधि आपूर्ति गर्न नसकिने बताउँदै मूल्य समायोजन भएलगत्तै औषधि आयात गरिने जानकारी दिनुभयो ।
