हेटौंडा ७ जेठः जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको उपस्थितिमा सञ्चारकर्मीसँग परिचय आदानप्रदान गर्नुका साथै सुरक्षा, शान्ति व्यवस्था तथा अपराध नियन्त्रणसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासा, सुझाव तथा प्रश्नहरूको जवाफ दिँदै एसपी खत्रीले प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सत्यतथ्य र जिम्मेवार समाचार सम्प्रेषणले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
एसपी खत्रीले मकवानपुरमा जुवा–तास, अवैध कारोबार तथा विभिन्न आपराधिक गतिविधिविरुद्ध प्रहरीले कडाइका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले अपराध नियन्त्रण र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने क्रममा केही स्वार्थ समूह तथा बिचौलियाहरूले प्रहरीविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको भए पनि कानुन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा जिल्लाभित्र कार्यरत विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।