काठमाडौं ७ जेठ : जनकुरा डट कमका संरक्षक, जेएम ३० ग्रुपका अध्यक्ष तथा समाजसेवी शैलेन्द्र डंगोललाई पितृशोक परेको छ। उहाँका पिता तथा टोखाका अग्रज संस्कृतिकर्मी भाइलाल डंगोलको ९२ वर्षको उमेरमा हिजो राति निधन हुनुभएको छ।
स्वर्गीय भाइलाल डंगोल टोखाको सांस्कृतिक क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो। विशेषगरी बासुरी वादन कलामा उहाँको योगदानलाई स्थानीय समुदायले सम्मानपूर्वक सम्झने गरेका छन्। प्राचीन सांस्कृतिक नगरी टोखामा उहाँले लामो समयसम्म सांस्कृतिक परम्परा जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
पारिवारिक स्रोतका अनुसार उपचारका क्रममा ग्रान्डी अस्पतालमा उहाँको निधन भएको हो। पत्नी शोक पीडित उहाँका पाँच छोरा र तीन छोरी रहेका छन्। निधनपछि राति नै टोखास्थित आर्यघाटमा परम्परागत वैदिक संस्कारअनुसार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
स्वर्गीय भाइलाल डंगोलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकमा रहनुभएका सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
-काली मिडिया /जनकुरा डट कम परिवार
