JanaKura

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

काठमाडौँ, ४ जेठ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभामा बोल्दै गत भदौ २३ र २४ गते भएको भनिएको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनका अनुसार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि अहिलेसम्म सार्वजनिक नगरिएको छ। उनले उक्त प्रतिवेदन सबै सांसदलाई उपलब्ध गराउनुपर्ने माग गरे।

त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगकी लिली थापाको संयोजकत्वमा तयार गरिएको अर्को प्रतिवेदन पनि रोकिएको भन्दै आपत्ति जनाए। कुन कारण र कसको स्वार्थमा रोकिएको हो भन्ने स्पष्ट गर्न सरकारलाई उनले आग्रह गरे।

केसीले ती घटनाक्रमका क्रममा करिब १२ घण्टा देशमा सुरक्षा शून्यताको अवस्था बनेको उल्लेख गर्दै भविष्यमा यस्ता अवस्था दोहोरिन नदिन सरकारले स्पष्ट प्रत्याभूति दिनुपर्ने बताए।

Exit mobile version