JanaKura

नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख अर्याल

काठमाडौँ, ४ जेठःसभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको बताएका छन्।

नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताए।

उनले भने, “नयाँ सरकारको आगमनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणको आशा पलाएको छ। यसले लगानीकर्ताहरूमा नयाँ उत्साह ल्याएको छ, तर त्यसलाई दीर्घकालीन विश्वासमा बदल्न हामीले नीतिगत स्थिरता कायम गर्न सक्नुपर्छ।”

सभामुख अर्यालले आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै अब नवप्रवर्तन (innovation) र डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार नेपालको आगामी प्राथमिकता सूचना प्रविधि (आईटी) क्षेत्र हुनुपर्नेछ, जसले देशको आर्थिक रूपान्तरणमा ‘गेम चेन्जर’ भूमिका खेल्न सक्ने सम्भावना रहेको छ।

उनले भने, “अबको प्राथमिकता आईटी क्षेत्र नै हुनुपर्छ। यसलाई संस्थागत गर्दै डिजिटल बिजनेस हब निर्माण र एआईमैत्री कानुनी पूर्वाधार विकासमा हामीले काम गरिरहेका छौं।”

Exit mobile version