JanaKura

एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्‍याइरहेका छन् : सांसद ओली

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन तथा अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताइन् ।

उनले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गरिन् । उनका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्‍याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् ।

उनले भनिन्, “नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगायो । सरकारको तर्क उहाँहरूलाई शोषण र हिंसाबाट सुरक्षित गर्नु थियो । तर के यो प्रतिबन्धले महिलाहरूलाई साँच्चिकै सुरक्षित बनाउन सक्यो ? यथार्थ हेर्दा, प्रतिबन्धले घरेलु कामदारका रूपमा विदेश जाने क्रम रोकिएको छैन । हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्‍याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । कहिले भारत हुँदै, कहिले अफ्रिकी मुलुकहरूलाई ट्रान्जिट बनाएर उनीहरूलाई गन्तव्य देशसम्म पुर्‍याइन्छ ।”

सांसद ओलीले मानव बेचबिखनमा संलग्न एजेन्ट नेटवर्क नेपालबाट ध्वस्त पार्न आवश्यक रहेको बताइन् । अहिले १० देखि १२ लाख रुपैयाँसम्म लिएर महिलाहरूलाई कुवेतलगायत मुलुकमा बेच्ने काम भइरहेको दाबी गर्दै उनले राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “सारा मान्छे बेच्ने एजेन्ट नेटवर्क नेपालबाट ध्वस्त हुनु आवश्यक छ । अहिले १० देखि १२ लाखमा महिलाहरूलाई कुवेतमा बेच्ने काम भइरहेको छ । एजेन्टहरूको छिनोफानो राज्यले नगरेसम्म चेलीबेटीहरू बेचिरहन्छन् ।”

Exit mobile version