काठमाडौं, ३१ वैशाखः गृहसचिव राजकुमार श्रेष्ठले प्राकृतिक विपद्मा परेका नागरिकको उद्धारमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभएको छ।
मनाङको ङिस्याङ गाउँपालिका–४ हुम्डेमा तीन हजार ४२० मिटर उचाइमा स्थापित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयको उद्घाटन तथा सिसं–२ उच्च भू–भाग खोज तथा उद्धार तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सशस्त्र प्रहरीको ज्ञान, त्याग र साहसको खुलेर प्रशंसा गर्नुभयो। उहाँले उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यले जोखिममा परेका नागरिकलाई राहत मिल्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।
गृहसचिव श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताउँदै उद्धार कार्यलाई अझ सशक्त बनाउन दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा स्थापित भएको बताउनुभयो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइपर्ने आकस्मिक घटना र चुनौतीलाई सामना गर्न दक्ष तथा साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालय स्थापना गरिएको उहाँको भनाइ थियो।
महानिरीक्षक पौडेलले पर्वतीय उद्धार क्षमता नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन र मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर जीवनरक्षाको अभियानमा सक्रिय हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। साथै उहाँले शिक्षालयलाई थप सुदृढ बनाउन आधुनिक उद्धार उपकरण, भौतिक पूर्वाधार, हेलिकप्टर सुविधा तथा उद्धारमा खटिने कर्मचारीका लागि जोखिम भत्ताको व्यवस्था आवश्यक रहेको बताउनुभयो।
उच्च भू–भाग खोज तथा उद्धार तालिमका चार प्रशिक्षक र १८ प्रशिक्षार्थीले वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। यसअघि पनि सशस्त्र प्रहरी टोलीले विभिन्न समयमा उक्त हिमाल सफलतापूर्वक आरोहण गर्दै उद्धार क्षमताको प्रदर्शन गरिसकेको छ।
विसं २०७७ मा स्थापना गरिएको शिक्षालय २०७८ वैशाखदेखि हुम्डेमा सञ्चालन हुँदै आएको छ। हालसम्म ७५ जनाले आधारभूत उच्च भू–भाग खोज तथा उद्धार तालिम, ५५ जनाले एड्भान्स तालिम तथा १२० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरिसकेका छन्।
तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा हिमपातमा फसेका नागरिकको उद्धार, अवरुद्ध सडक सञ्चालन, बेपत्ता व्यक्तिको खोज तथा लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उद्धारमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्।
