काठमाडौं २९ वैशाख । नेपाली कांग्रेस भित्र सभापति गगन थापा ले हालै थप गरेका १९ केन्द्रीय सदस्यको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्न थालेको छ । युवा नेताहरू, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले निर्णयप्रति खुलेर आपत्ति जनाउन थालेका हुन् ।
नेपाल विद्यार्थी संघ र तरुण दलमार्फत लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका युवा नेता लावस राई ले बदलिएको भनिएको कांग्रेस फेरि पुरानै शैलीमा फर्किएको टिप्पणी गरेका छन् ।
उनले पटक–पटक अवसर पाइसकेका नेताहरूलाई पुनः जिम्मेवारी दिँदा पार्टी रूपान्तरणको अपेक्षा गर्न नसकिने बताए । “पुरानै टेस्टेड नेताहरूलाई अवसर दिँदैमा कांग्रेस बदलिँदैन । पार्टी अझै पनि परम्परागत र क्लासिकल शैलीमै चलिरहेको देखिन्छ,” राईले बताएका छन् ।
राईले ०६२–०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका युवाहरूलाई नेतृत्व तहले प्रयोग मात्र गरेको आरोप पनि लगाए । युवाहरूको काँधमा टेकेर नेतृत्वमा पुगेका नेताहरूले पार्टीभित्रको यथास्थितिवाद अन्त्य गर्न नसकेको उनको भनाइ छ ।
उनका अनुसार गुट–उपगुटको राजनीतिमा रमाउने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाइरहेको छ । “अब कांग्रेसभित्र नयाँ ऊर्जा, स्पष्ट विचार र संघर्षशील युवाहरूले अवसर पाउनुपर्छ,” उनले जोड दिए ।
सभापति गगन थापाले सोमबार केन्द्रीय समितिमा १९ जना सदस्य मनोनयन गरेका थिए । तीमध्ये अधिकांश शेरबहादुर देउवा र शेखर कोइराला समूह निकटका नेताहरू रहेको बताइएको छ । पर्याप्त छलफल र परामर्शबिना निर्णय गरिएको भन्दै कांग्रेसभित्र फेरि आन्तरिक मतभेद सतहमा आएको देखिएको छ ।