• Jana Kura

  • 2026-05-12

काठमाडौं २९ वैशाख  । काठमाडौं महानगरपालिका ले वीर अस्पताल सँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण अभियानअन्तर्गत १ हजार ७ सय महिलाको रिपोर्ट आउँदा ६० जनामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) पोजेटिभ देखिएको छ ।

महानगरपालिकाले २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरेको परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रममा २ हजार ७७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो । हालसम्म प्राप्त रिपोर्टअनुसार ६० जनामा संक्रमण देखिएको हो । तीमध्ये १८ जनाको कल्पोस्कोपी परीक्षण गरिसकिएको छ ।

एचपीभी पोजेटिभ देखिएका महिलालाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर थप परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइएको छ । साथै स्तन, पाठेघरको भिडियो एक्सरे र मेमोग्रामका लागि पनि तालिका बनाएर सेवाग्राहीलाई अस्पताल बोलाइने गरिएको छ ।

महानगरपालिकाले परीक्षण र प्रारम्भिक उपचारको सम्पूर्ण खर्च व्यहोरेको जनाएको छ । सेवाग्राहीले कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।

चिकित्सकहरूका अनुसार एचपीभी पोजेटिभ हुनु भनेको सीधै क्यान्सर हुनु होइन, तर भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिमको संकेत हो । एचपीभी संक्रमण लामो समयसम्म रहिरहे क्यान्सरको सम्भावना बढ्न सक्छ ।

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ३५ दिनको अवधिमा ३ हजार ४९४ महिलाले स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरी रिफरल स्लिप लिएका थिए । तर तीमध्ये २ हजार ९७५ जना मात्रै अस्पतालमा परीक्षणका लागि पुगे । ५१९ जनाले प्रक्रिया सुरु गरे पनि सेवा लिन नपुगेको भन्दै यसको कारण खोजीको विषय बनेको महानगरले जनाएको छ ।

परीक्षणका क्रममा २ हजार ९६४ महिलाको स्तन क्यान्सर जाँच गरिएको थियो । त्यसमध्ये ४११ जनाको मेमोग्राम तथा ४९४ जनाको भिडियो एक्सरे गरिएको छ । साथै ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) भेटिएको छ भने केही महिलामा पाठेघरसम्बन्धी अन्य समस्या पनि देखिएको अस्पतालले जनाएको छ ।

चिकित्सकहरूका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एकपटक एचपीभी परीक्षण गराउनु आवश्यक हुन्छ । धुमपान गर्ने, धेरै पटक गर्भवती भएका, कम उमेरमै यौन सम्पर्कमा आएका तथा प्रतिरक्षा प्रणाली कमजोर भएका महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुने बताइएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै