काठमाडौँ, २५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने भन्दै घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत विरुद्ध आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग रु २० हजार घुस लिएको पाइएको हो ।
आयोगको टोलीले केही दिनअघि राउतलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा जरिवानाको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
