मन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले बस्ती खाली गर्ने प्रक्रिया मानवीय ढंगले अघि बढाउने निर्णय गरेको हो।
निर्णयअनुसार पूर्वसूचना (माइकिङ) दिएपछि बस्ती खाली गराइनेछ र त्यसपछि प्रभावित परिवारलाई सुरक्षित आश्रयस्थलसम्म पु¥याइनेछ। अशक्त, वृद्ध, बालबालिका, गर्भवती, सुत्केरी र दीर्घरोगीलाई प्राथमिकताका साथ उद्धार गरिने व्यवस्था मिलाइनेछ।
उद्धार कार्यका लागि गृह मन्त्रालय नेपालको समन्वयमा सुरक्षा प्रबन्ध गरिनेछ भने स्वास्थ्य सेवाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नेपालले एम्बुलेन्स र मेडिकल टोली परिचालन गर्नेछ।
त्यस्तै पहिलो आश्रयस्थलमा खाना, पानी र आवश्यक सामग्रीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्नेछ।
सरकारले बस्ती स्थानान्तरणपछि अस्थायी आवास व्यवस्थापन गर्दै परिवारको पहिचान र प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्ने जनाएको छ। प्रमाणीकरण नभएकाहरूलाई क्रमशः व्यवस्थापन प्रक्रिया अनुसार स्थानान्तरण गरिनेछ।
बस्ती हटाइएपछि सो स्थानमा पूर्वाधार निर्माण र सरसफाइको काम सम्बन्धित मन्त्रालयहरूले सुरु गर्नेछन्।
सरकारले यो कार्यलाई समन्वित रूपमा अघि बढाउन केन्द्रीय समन्वय समिति गठन गरेको छ, जसमा विभिन्न मन्त्रालयका सचिव तथा काठमाडौँ महानगरका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ।
बैठकले सम्पूर्ण प्रक्रिया मानवीयता, सुरक्षा र व्यवस्थित शहरी विकासलाई ध्यानमा राख्दै अघि बढाइने स्पष्ट गरेको छ।
