JanaKura

ट्राफिकको कडाइ: २४ घण्टामै २३ लाख राजस्व सङ्कलन

काठमाडौँ, ९ वैशाखः काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ।

बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको विशेष अभियानबाट यस्तो परिणाम आएको काठमाडौँ उपत्यकामा ट्राफिकले जनाएको छ।

कार्यालयका अनुसार उक्त अवधिमा विभिन्न स्थानमा गरिएको चेकजाँचमा कुल २ हजार ६४० चालक कारबाहीमा परेका छन्। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १०१, सवारीसाधनको अवस्था ठीक नभएका ३९, रातो बत्ती उल्लङ्घन गर्ने १८०, तीव्र गतिमा सवारी चलाउने ८७, लेन मिच्ने २७६, ढोका खुल्ला राख्ने ८२, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२, यात्रु चढाउने ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ तथा अन्य कसुरमा १ हजार ७९० जना रहेका छन्।

ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीले अभियानको मुख्य उद्देश्य राजस्व सङ्कलन मात्र नभई सवारी दुर्घटना न्यूनीकरण गर्नु रहेको बताउनुभयो। “हामीले चौबिसैँ घण्टा चेकिङलाई तीव्र बनाएका छौँ। नियम उल्लङ्घन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्नुका साथै जनचेतना अभिवृद्धि गर्नु पनि हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो।

पछिल्लो समय बढ्दो दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई थप प्रभावकारी बनाउँदै मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुरक्षित यातायात संस्कृतिको विकास गर्न पहल भइरहेको छ।

ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तोकिएको गति सीमा पालना गर्न, लेन अनुशासन कायम गर्न तथा ट्राफिक सङ्केतहरूको सम्मान गर्न आग्रह गरेको छ। नियम उल्लङ्घनले व्यक्तिगत मात्र नभई सार्वजनिक सुरक्षामा समेत गम्भीर असर पार्ने भएकाले सबैलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै प्रविधिमा आधारित स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने तयारी भइरहेको जनाइएको छ।

Exit mobile version