काठमाडौं ,बैशाख ८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो।
प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्नेमा जोड दिइएको छ। पार्टीले Millennium Challenge Corporation (एमसीसी), State Partnership Program (एसपीपी) वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा राखेको छ।
सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै छिमेकी राष्ट्रहरूसँग नियमित संवाद, निरीक्षण तथा परीक्षण प्रणालीमार्फत सीमा सुदृढ गर्नुपर्ने उल्लेख गरिएको छ। सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत सेवा–सुविधा उपलब्ध गराउने, आवश्यक परे नेपाली सेना लाई परिचालन गर्ने तथा अवैध निर्माण कार्य रोक्न पहल गरिने प्रतिबद्धता पनि पत्रमा समावेश छ।
त्यसैगरी, स्वदेशी स्रोत–साधनको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ। भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकासलाई मौलिक शैली र आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखिएको छ।
दैनिक उपभोग्य वस्तु नुन, तेल, पेट्रोलियम तथा ऊर्जाको मूल्य नियन्त्रण गर्दै महँगी घटाउने, आवश्यक परे राज्यले हस्तक्षेपकारी भूमिका खेल्ने पनि उल्लेख गरिएको छ।
पत्रकार सम्मेलनमा साम्पाङले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। उनले वर्तमान परिस्थितिमा मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन्।
शिक्षा तथा रोजगारीतर्फ, हप्तामा तीन दिन किताबी ज्ञान र चार दिन श्रम, सीप तथा उत्पादनमूलक शिक्षा दिने नीति ल्याउनुपर्ने प्रस्ताव गरिएको छ। कृषिलाई शिक्षा र उद्योगको आधार मान्दै सिँचाइ, मल र बिउ किसानको पहुँचमा पु¥याउने तथा ‘एक परिवार, एक रोजगार’ नीति लागू गर्नुपर्ने सुझाव समेत प्रस्तुत गरिएको छ।