काठमाडौँ, २८ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति नेपाल चिकित्सक सङ्घ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले उक्त निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।
सरकारले शनिबार र आइतबार दुई दिन बिदा लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले अस्पतालहरुलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयले अस्पतालहरुलाई आफ्नो कार्यभारअनुसार सेवा सञ्चालन गर्न तथा सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न भनेको थियो।
तर उक्त निर्देशन कार्यान्वयन गर्न कठिन हुने भन्दै सङ्घले पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारलाई मुख्य कारण औंल्याएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित समय बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिक सेवामार्फत २४सै घण्टा सेवा दिँदै आएको अवस्थामा त्यसको उचित मूल्याङ्कन नभएको भन्दै सङ्घले आपत्ति जनाएको छ।
पर्याप्त जनशक्ति व्यवस्थापन नगरी आइतबार ओपिडी सञ्चालन गर्नुपर्ने निर्णय व्यवहारिक नभएको सङ्घको ठहर छ।
यसैबीच विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले फरक–फरक निर्णय सार्वजनिक गरेका छन्। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ले आकस्मिक बाहेक आइतबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरेका छन्।
यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा भरतपुर अस्पताल ले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन्।
सङ्घले विभिन्न संस्थामा फरक–फरक बिदा प्रणाली हुँदा बिरामीहरू अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। न्यून सेवा–सुविधामा जबरजस्ती काम गराउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिन बाध्य हुने सङ्घले जनाएको छ।
