काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले केपी शर्मा ओली तथा रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार पुनः सुनुवाइ गर्ने भएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आज सुनुवाइ सुरु भए पनि समय अभावका कारण सोमबारका लागि स्थगित गरिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओलीको र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको रिटमा चैत १६ गते कारण देखाउ आदेश जारी गरेको थियो।
रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ। साथै, कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कार्य कानुनसम्मत नहुने दाबी गरिएको छ।