• Jana Kura

  • 2026-04-05

काठमाडौँ, २२ चैतः नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै उपभोक्ताले त्यसलाई सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो।

“बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन। जसरी भए पनि इन्धन खपत कम गर्ने हो। यसमा जनताको पनि योगदान चाहिन्छ,” उहाँले भन्नुभयो, “अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ। सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ। उपभोक्ताले पनि अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन प्रयोग गर्नु हुँदैन।”

पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट बढ्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो। साथै, डिजेल तथा पेट्रोल प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी सुधार गर्ने निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।

निगमका अनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ। प्रवक्ता ठाकुरले सरकारको निर्णयको प्रभाव कति पर्छ भन्ने यकिन गर्न केही समय लाग्ने बताउनुभयो।

“बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ,” उहाँले भन्नुभयो, “धेरै विद्यालय निजी छन् र सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ। अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) जारी रहेकाले प्रयोग अझै उच्च छ।”

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै