काठमाडौँ, २२ चैतः प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले विशेष ध्यान दिने बताउनुभएको छ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन प्राथमिकता दिइने उल्लेख गर्नुभयो।
सभामुख अर्यालले आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनःनिर्माणका लागि अनिवार्य रूपमा नयाँ कानुन आवश्यक नपर्ने, तर आवश्यकता परे छिटो कानुन निर्माण गरेर काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, सभामुख अर्यालले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने धारणा व्यक्त गर्नुभयो।