काठमाडौँ, १९ चैत / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदबाटै दलित समुदायप्रति सार्वजनिक र सामूहिक माफी माग्दै त्यसको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा मन्तव्य दिने क्रममा सभापति लामिछानेले आफ्नो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह र सरकारको तर्फबाट औपचारिक क्षमायाचना गर्नुभएको हो। उहाँले ऐतिहासिक रूपमा दलित समुदायमाथि भएको विभेद, अन्याय र अवसर वञ्चनालाई स्वीकार गर्दै सरकार सामाजिक न्यायका कार्यक्रममार्फत सुधारमुखी कदम अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी माग्ने प्रावधान रहेको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेसँगै पारित मन्त्रिपरिषद् बैठकले यस कार्ययोजनामा औपचारिक माफीको प्रावधान राख्ने निर्णय गरेको थियो।
सभापति लामिछानेले सदनमा खगेन्द्र सुनारको प्रसङ्ग उल्लेख गर्दै व्यक्तिगतरूपमा माफी माग्ने परम्परालाई अब राज्यस्तरमा विस्तार गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,
“शताब्दियौँदेखि विभेद, अन्याय र अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछौँ, त्यो पनि यही सदनबाट। अब कुनै पनि नेपाली जातको नाममा अन्याय स्वीकार्य छैन। म, सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट माफी माग्छु र यसको मूल्य न्यायले गर्नेछ।”
सभापति लामिछानेले सरकारले दलित समुदायको न्याय, समान अवसर र समावेशी पुनःस्थापनालाई प्राथमिकतामा राख्दै सुधारमुखी कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।